काठमाडौं - पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले आफूविरुद्ध लगाइएको मुद्दा पूर्वाग्रही र अप्रमाणित प्रतिवेदनमा आधारित रहेको बताएका छन्।
रिहापछि आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखकले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित’ भन्दै त्यसकै आधारमा आफूलाई फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
साथै, सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै लेखकले आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति रहेको बताएका छन्।
उनले बाँकी कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पार्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।<

