Harsamaya
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरु ।

जनकपुरधाम - जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । रामायण कालिन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देश भरी सीता माताको जन्म जयन्ती मनाउनु पर्ने रामानन्दिय वैशणव समाजका अध्यक्ष एवम् जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बताए ।

उनले बालेन साह नेतृत्वको सरकारले हालसम्म उत्कृष्ट काम गर्दै आएकोले जनकपुरधामका साधुसन्त पनि प्रधानमन्त्री बालेनसंग आशावादी रहेको बताए ।

जानकी नवमीको दिन प्रदेश सरकाले बिदा दिँदै आए पनि प्रदेश सरकारको क्यालेन्डरमा भने बिदा अङ्कित नहुनु दुःखद रहेको महन्थ दासले बताए । उनले विश्वमा राम सीताको पूजा हुने गरे पनि आफ्नै देशमा माता सीता उपेक्षित हुनु दुखद रहेको बताए ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरसहित अन्य सम्पूर्ण मठ मन्दिरहरूमा जानकी नवमी धूमधामका साथ मनाइने महन्थ दासले जानकारी दिए । उनले यो दिन जानकी मन्दिरमा विशेष पूजा पाठका साथै द्विप प्रज्वलनलगायत विभिन्न धार्मिक कार्यक्रमहरू हुने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update