काठमाडौं - व्यवसायी दीपक भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीले बिहीबार भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको हो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।
भट्टले बीमा ऐन २०७९ को दफा १४० उल्लंघन गरी गैरकानुनी रूपमा आर्जित सम्पत्ति धितोपत्र बजार लगायत विभिन्न क्षेत्रमा लगानी गरेर शुद्धीकरण गरेको आरोप छ। साथै, गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, स्वरूप परिवर्तन गर्ने तथा छल्ने कार्य गरेको आरोपमा विभागले यसअघि देखि नै अनुसन्धान गर्दै आएको थियो।
यसअघि बयान लिइसकिएको भए पनि थप प्रमाण सङ्कलन र विस्तृत अनुसन्धान आवश्यक देखिएकाले उनलाई अदालतमा पेस गरिएको जनाइएको छ।

