काठमाडौं - नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरु टिओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंकार खलनायक र हत्याराका रुपमा स्थापित गरे । जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले ।’
देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ । उनले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतंक मच्याइँदैछ भनेर प्रश्न गरे ।
उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नै प्रश्न उठाए । उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरुले के स्पस्ट गर्दछ भने मुख्यत नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदि संस्था तथा पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो जादुमय विजयका लागि ।’

