काठमाडौं - नेपाली कांग्रेसले पार्टीको लेटरप्याड प्रयोग गरी अनाधिकृत वक्तव्य जारी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो कार्य पार्टीको नीति तथा अनुशासनविपरीत रहेको उल्लेख गर्दै भविष्यमा यस किसिमका गतिविधिमा संलग्न जो–कोहीमाथि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) तथा प्रचलित नेपाल कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।
गत चैत १४ गते पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका थिए । पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि खड्काले त्यसको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए ।
पार्टीले यस्ता भ्रामक गतिविधिबाट आमकार्यकर्ता तथा सर्वसाधारणलाई भ्रममा नपर्न पनि आग्रह गरेको छ।
यस्तै कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा देखिएका अनुशासन उल्लंघनका घटनामाथि कडा कदम चाल्ने भएको छ। हालसम्म प्राप्त ५०७ जनाविरुद्धका उजुरीलाई प्राथमिकताका साथ छानबिन गरी टुंग्याउने समितिले निर्णय गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उजुरीहरूलाई विभिन्न आधारमा वर्गीकरण गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।
उजुरीमा स्वतन्त्र उम्मेदवार बनेका, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रचारमा लागेका, विपक्षीलाई सहयोग गरेका तथा पार्टीका लागि मत नमागी निष्क्रिय बसेकासम्मलाई समेटिएको छ।
बैठकले छानबिनपछि आरोपित व्यक्तिहरूसँग ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
त्यस्तै, निर्वाचनसम्बन्धी अनुशासन उल्लंघनका थप उजुरीहरू चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिइएको छ। सो म्यादपछि प्राप्त उजुरीमाथि कुनै कारबाही नहुने स्पष्ट पारिएको छ।


