काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा २२ वटा उद्योग तथा फर्ममाथि कारबाही तथा निर्देशन दिएको छ।
विभागले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ललितपुर महानगरपालिका–८, बालकुमारीस्थित एस.डि.पि. एल. ट्रेड प्रा.लि.लाई उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका तथा टोखा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित अन्य २१ वटा फर्मलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
निर्देशन पाएका फर्महरूमा हार्डवेयर, सप्लायर्स, ट्रेडर्स तथा डिजिटल सामग्री बिक्री गर्ने व्यवसायहरू रहेका छन्। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम अनुगमन गरी आवश्यक कारबाही गरिएको हो।
विभागले उपभोक्ताको हित संरक्षण तथा स्वच्छ बजार सुनिश्चित गर्न नियमित रूपमा अनुगमनलाई तीव्र बनाउने जनाएको छ।

