Harsamaya
चितवनमा बर्डफ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट
प्रतिकात्मक तस्वीर: ह र समय/Har Samaya

चितवन - बर्डफ्लु संक्रमण चितवनमा पुष्टि भएपछि १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको लोकल कुखुरा फार्ममा संक्रमण देखिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार करिब १८ हजार लेयर्स कुखुरा र थप ९०० लोकल कुखुरा नष्ट गरिएको हो।

उनका अनुसार पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु अहिले चितवनसम्म फैलिएको हो। भाइरसजन्य रोग भएकाले यसले व्यावसायिक कुखुरापालनमा ठूलो असर पार्ने र अन्य चराचुरुङ्गीमा पनि सर्न सक्ने जोखिम रहेको उनले बताए।

संक्रमण नियन्त्रणका लागि किसानलाई फार्मको सरसफाइ, जैविक सुरक्षा उपाय अपनाउने, कुखुरा तथा हाँसको नियमित स्वास्थ्य परीक्षण गर्ने र अनावश्यक आवतजावत नियन्त्रण गर्न आग्रह गरिएको छ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठले हाल अन्य क्षेत्रमा संक्रमण पुष्टि नभए पनि जोखिम उच्च रहेको बताए। फार्महरूबीच सामग्री तथा सवारीसाधनमार्फत भाइरस सजिलै सर्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

चितवनमा २०७८ सालपछि पहिलोपटक बर्डफ्लु देखिएको हो। त्यसबेला करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो। हाल जिल्लामा करिब एक करोड आठ लाख कुखुरा रहेको तथ्याङ छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update