काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भई सहकारी ठगी प्रकरणमा तारेख बुझेर फर्किएका छन्।
अदालत स्रोतका अनुसार लामिछाने बिहानै अदालत पुगेका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन्।
लामिछानेविरुद्ध २०८१ पुस २१ गते काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भएको थियो। उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन् भने कुल ३९ जना प्रतिवादी रहेका छन्।
प्रहरी अनुसन्धानअनुसार गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गैरकानुनी रूपमा लिएको निष्कर्ष निकालिएको छ। सोही रकम बराबरको बिगो माग गर्दै सरकारी वकिल कार्यालयले अदालतमा दाबी प्रस्तुत गरेको छ।
उक्त प्रकरणमा अदालतमा नियमित सुनुवाइ प्रक्रिया जारी रहेको छ।

