सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी तथा सदस्य पदहरूमा नियुक्ति गरेको छ।
बिहीबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को रिक्त सदस्य सचिव पदमा वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतका रवीन चन्द ठकुरीलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी परिषद्को उपाध्यक्ष पदमा वीरेन्द्रनगर–५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।
बैठकले परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिएका छन्।
नियुक्तिसँगै परिषद्ले प्रदेशमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान र खेलकुद पूर्वाधार विस्तारमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

