Harsamaya
तीन फर्म जरिवानामा, १५ व्यवसायलाई सुधारको चेतावनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग । तस्वीर : हर समय/Har Samaya

काठमाडौँ : उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो स्थलगत निरीक्षणका क्रममा नियम उल्लंघन गर्ने तीन फर्मलाई नगद जरिवाना गरिएको छ भने दर्जनौँ व्यवसायलाई सचेत गराइएको छ ।

विभागका अनुसार ललितपुरको इमाडोलस्थित ‘दशरथ ग्रोसरी प्रालि’लाई रु ५० हजार जरिवाना गरिएको छ । त्यस्तै, भक्तपुर सूर्यविनायक–बालकोटको ‘शाह एण्ड शाह इन्टरप्राइजेज’लाई रु १० हजार र महालक्ष्मी–५ टिकाथलीस्थित ‘ए एण्ड ए सपिङ सेन्टर’लाई रु पाँच हजार जरिवाना गरिएको हो । अनुगमनका क्रममा कानुन विपरीत कारोबार भएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै, निरीक्षणमा कैफियत देखिएका थप १५ फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गर्दै आएको र उपभोक्ताको अधिकारविपरीत गतिविधिमा संलग्न व्यवसायलाई कडा कारबाही जारी रहने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update