Harsamaya
तीन फर्म कारबाहीमा, १२ व्यवसायलाई सुधारको चेतावनी 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।

काठमाडौँ : उपभोक्ताको अधिकार संरक्षणलाई केन्द्रमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई अझ कडा बनाएको छ । आइतबार गरिएको स्थलगत निरीक्षणका क्रममा मापदण्ड उल्लंघन गर्ने तीन फर्मलाई कारबाही गरिएको छ भने अन्य व्यवसायलाई सचेत गराइएको छ ।

विभागका अनुसार ललितपुर महानगरपालिका–२२ बुङ्मतिमा रहेको ‘सुवा ग्रोसरी’लाई रु ५० हजार जरिवाना गरिएको छ। त्यस्तै, ललितपुर–१८ मगरगाउँस्थित ‘प्रमिसा खाद्यस्टोर’ र भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डु बजारमा रहेको ‘ए जे सप्लायर्स’लाई जनही रु १० हजार जरिवाना गरिएको हो । ती सबै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै, अनुगमनका क्रममा कैफियत देखिएका थप १२ फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालासँग समन्वय गर्दै नियमित रूपमा बजार अनुगमन गर्दै आएको र उपभोक्ता हितविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही निरन्तर जारी रहने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update