झापा - ‘बर्ड फ्लु’संक्रमण पुष्टि भएपछि दमक नगरपालिकामा कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।
नगरपालिका–१० स्थित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख रामकुमार थापाका अनुसार संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको छ। पशु विकास अधिकृत विपु अधिकारीका अनुसार संक्रमित फार्मका कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने तयारी गरिएको छ।
प्राविधिक टोलीले स्थलगत अनुगमन गरी संक्रमित तथा शंकास्पद कुखुरा नष्ट गर्ने योजना बनाएको छ। प्रभावित क्षेत्रमा करिब १३ हजार कुखुरा रहेको बताइएको छ। नगरपालिका प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र असामान्य रूपमा कुखुरा बिरामी हुने वा मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

