काठमाडौँ - बजारमा उपभोक्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई थप कडाइ गरेको छ । आइतबार गरिएको नियमित निरीक्षणका क्रममा मापदण्ड विपरीत गतिविधि भेटिएपछि एक फर्ममाथि जरिवाना गरिएको छ भने अन्य व्यवसायलाई सचेत गराइएको छ ।
काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित ‘मुम्बई जाइका’ नामक फर्मलाई निरीक्षणका क्रममा कैफियत भेटिएपछि रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ। उक्त कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार गरिएको हो। त्यस्तै, सोही दिन अनुगमन गरिएका १३ फर्ममध्ये १२ वटालाई सुधार गर्न निर्देशन दिइएको छ।
विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा बजार अनुगमन गर्दै आएको जनाउँदै उपभोक्ताको अधिकार सुनिश्चित गर्न यस्तो अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

