नवलपरासी - बुटवल–नारायणगढ सडक शुक्रबारदेखि अवरुद्ध बनेको खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
पूर्वपश्चिम राजमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–२, नवलपरासी स्थित दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास सडक हिलो र लेदोका कारण सवारीसाधन बीच बाटोमै फसिरहेका छन्।
पूर्वबाट पश्चिम जाने सवारीहरू उकालो चढ्न नसक्दा पूर्ण रूपमा अवरुद्ध भएका छन् भने पश्चिमबाट पूर्वतर्फ केही मात्रामा सवारी सञ्चालन भइरहेको छ।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारी प्रभावित छन्। नारायणघाट–बुटवल सडक आयोजना कार्यालयका अनुसार सडक विस्तार कार्य जारी रहेकाले सामान्य वर्षामा समेत अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

