Harsamaya
युद्ध अन्त्य हुने आश्वासनबीच तेलको मूल्यमा गिरावट
प्रतिकात्मक तस्वीर ।

एजेन्सी - मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी गरेको र ऊर्जा पूर्वाधारमा थप आक्रमण नहुने संकेत दिएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । यद्यपि द्वन्द्व कायमै रहेकाले ऊर्जा बजारमा अनिश्चितता अझै कायम रहेको देखिएको छ ।

नेतान्याहुले पत्रकार सम्मेलनमार्फत इरान ‘विनाश हुँदै गएको’ र इजरायल तथा संयुक्त राज्य अमेरिका ‘विजयको दिशामा अघि बढिरहेको’ बताएका छन् । उनका अनुसार इरानसँग अब युरेनियम समृद्ध गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता नरहेको दाबी गरिएको छ । साथै युद्ध अपेक्षाभन्दा छिटो अन्त्य हुने विश्वास व्यक्त गरिए पनि स्पष्ट समयसीमा भने दिइएको छैन ।

उनले संयुक्त राज्य अमेरिकासँग मिलेर स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउने प्रयास भइरहेको पनि उल्लेख गरे । विश्वव्यापी तेल र ग्यास आपूर्तिको झण्डै पाँचौँ हिस्सा यही जलडमरूमध्यबाट पार हुने भएकाले यसको सुरक्षा अत्यन्त संवेदनशील मानिन्छ ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानी ऊर्जा पूर्वाधारमा थप आक्रमण नगर्न सुझाव दिएको बताएका छन् । उनले आफूले प्रधानमन्त्रीसँग कुरा गरेर यस्तो आक्रमण नगर्न आग्रह गरेको र त्यसलाई मानिएको दाबी गरे ।

यसअघि इजरायलले दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामाथि प्रतिशोधको चेतावनी दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update