काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
चुनावको समीक्षा र भावी रणनीति तयार गर्न काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । सभापति थापाको राजीनामा पत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ । उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा काँग्रेसले निर्णय लिनेछ ।

