काठमाडौं - सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई अन्तरिम आदेशमार्फत सच्याउन अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृका यादव विजयी भएका छन्।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले साहको नाम कालोसूचीमा राखेकाले फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो। साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेको थियो।
साहले उक्त निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा पहिलो रिट दर्ता गरेका थिए। त्यसको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो भने फागुन २९ गतेका लागि तोकिएको सुनुवाइ हुन सकेको थिएन।
यसबीच साहले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट दायर गरेका थिए।
न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै केन्द्रबाट प्राप्त पत्रमा साह कालोसूचीमा नदेखिएको उल्लेख भएकाले अन्तरिम आदेश जारी गरेको थियो।
तर आइतबार सर्वोच्च अदालतले उम्मेदवारी खारेजी सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै साहको उम्मेदवारी खारेज नै रहने भएको छ। यससँगै निर्वाचन आयोगले घोषणा गरेअनुसार धनुषा–१ बाट नेकपाका मातृका यादवको जित सुनिश्चित भएको छ।

