काठमाडौं - चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवीन तन्दुरकारलाई हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।
हिजो राजधानीमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । सङ्कटा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्दुरकारले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्त्वपूर्ण भएको बताए ।
राष्ट्रिय यु ८ चेस च्याम्पियनमा शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्विन अफ दि हिमालय २०२५ घोषित भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीण केसीले हिमालयन ट्याक्टिकल टाई टन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।
परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी , राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहा निर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक सङ्घका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे । त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।
कार्यक्रममा राखेपका पूर्व सदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उप कार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, इतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सह संस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।
एकेडेमीकी संस्थापक खम्बुले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुति दिएकी थिइन् । एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दै छ ।
विश्व चेस महासङ्घको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रूपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एकेडेमीको यो १४औँ प्रतियोगिता हुनेछ ।

