Harsamaya
खाडी संकट गहिरिँदै : इरानको तेल केन्द्रमा अमेरिकी हमला, विश्व ऊर्जा बजारमा तनाव
प्रतिकात्मक तस्वीर ।

एजेन्सी - मध्यपूर्वमा बढ्दो सैन्य तनावले विश्व राजनीति र ऊर्जा सुरक्षामा नयाँ चिन्ता थपेको छ। अमेरिका र इरान बीचको टकराव तीव्र बन्दै जाँदा इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खार्ग टापु नजिक अमेरिकी सेनाले सैन्य लक्ष्यमा आक्रमण गरेको जानकारी सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणमा टापुमा रहेका सैन्य संरचना ध्वस्त पारिएको दाबी गर्दै आवश्यक परे इरानको तेल पूर्वाधारमाथि पनि कारबाही हुन सक्ने चेतावनी दिएका छन्। इरानतर्फबाट भने यसलाई गम्भीर उक्साहटको रूपमा लिँदै कडा प्रतिकार गरिने संकेत दिइएको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर कालीबाफ ले आक्रमणको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

तनावबीच इरानको राजधानी तेहरानमा ठूलो विस्फोट भएको समाचार सार्वजनिक भएको छ। विस्फोट प्यालेस्टिनी समर्थनमा आयोजना गरिएको वार्षिक र्याली नजिकै भएको बताइएको छ। उक्त कार्यक्रममा हजारौँ मानिस सहभागी भएका थिए भने केही सरकारी अधिकारी पनि उपस्थित थिए। घटनामा मानवीय क्षति नभएको जानकारी दिइएको छ।

सैन्य तयारीका रूपमा अमेरिकाले मध्यपूर्वमा थप फौज पठाएको छ। अमेरिकी नौसेनाको उभयचर हमला जहाज यूएसएस ट्रिपोली (LHA-7) सहित ३१औँ मरीन एक्सपेडिसनरी युनिट क्षेत्रतर्फ तैनाथ गरिएको छ। यसअघि नै अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहाम लिङ्कन (CVN-72) सहितका युद्धपोत अरब सागर क्षेत्रमा परिचालनमा छन्।

यसैबीच इरानले इजरायल तथा खाडी क्षेत्रका केही देशतर्फ मिसाइल र ड्रोन आक्रमण जारी राखेको बताइएको छ। विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढेपछि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा दबाब बढेको छ।

द्वन्द्वले मानवीय संकट पनि गम्भीर बनाउँदै लगेको छ। लेबनन मा इरान समर्थित हिजबुल्लाह समूह र इजरायलबीचको झडपमा सयौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन्।

लगातार बढ्दो सैन्य कारबाही, ऊर्जा मार्गमा जोखिम र क्षेत्रीय अस्थिरताका कारण यो द्वन्द्वले विश्व अर्थतन्त्र, तेल बजार र खाडी क्षेत्रको सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढ्दै गएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update