काठमाडौँ - काठमाडौँका केही क्षेत्रमा आज विद्युत् आपूर्ति केही घण्टाका लागि अवरुद्ध हुने भएको छ । जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने गोठाटार र बत्तीसपुतली फिडरबाट आपूर्ति हुने केही क्षेत्रमा अस्थायी रूपमा बिजुली बन्द गरिनेछ ।
प्राधिकरणका अनुसार पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म ११ केभी लाइनको मर्मत तथा पोल जडानको काम गरिने भएकाले विद्युत् कटौती हुनेछ ।
त्यसैगरी मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा दिउँसो २ बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।
निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति तुरुन्तै नियमित गरिने प्राधिकरणले जनाएको छ । अस्थायी रूपमा हुने असुविधाप्रति प्राधिकरणले उपभोक्तासँग क्षमायाचना पनि गरेको छ ।

