Harsamaya
अफ्रिकन स्वाइनका कारण ४६ बंगुर मरे
बंगुरमा अफ्रिकन स्वाइन ।

पर्वत - पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइनको संक्रमण बढेको छ ।

बंगुरमा लागेको अफ्रिकन स्वाइनका कारण ४६ बंगुर मरेका छन् । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको प्रक्षपणमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएपछि किसान तथा बंगुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आग्रह गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बंगुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।

नमूना संकलन गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

शंकास्पद अवस्थामा बंगुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बंगुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जंगली बंगुरसँग सम्पर्क हुन नदिन तथा होटेल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले भनेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update