काठमाडौँ - बजारमा उपभोक्ताको अधिकार संरक्षणका लागि सरकारी अनुगमन थप कडा बनाइएको छ। नियमित बजार अनुगमनको क्रममा आज १३ वटा व्यवसायिक फर्म जाँच गर्दा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना गरिएको छ भने अन्यलाई सुधारात्मक निर्देशन दिइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी नियम उल्लङ्घन गरेको पाइएपछि सिन्धु फलफूल तथा फ्रेस सेन्टर लाई २० हजार रुपैयाँ र पञ्चकन्या त्रिदेव डेरी पसल लाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो। उक्त कारबाही उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अनुसार गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीले अन्य ११ वटा फर्ममा पनि केही कमीकमजोरी फेला पारेपछि सुधार गर्न निर्देशन दिएको छ। विभागले स्थानीय सरोकारवाला र उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।
विभागले उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षित गर्न अनुगमनलाई अझ प्रभावकारी बनाउने तथा नियम उल्लङ्घन गर्ने व्यवसायमाथि आवश्यक कारबाही जारी रहने स्पष्ट पारेको छ।

