काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा प्रत्यक्षतर्फ हराएको भनिएका केही मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएको खुलेको छ।
सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका ढ्वाङ खोल्दा भेटिएको स्वीकार गरेका छन्। उनका अनुसार मतगणनाका क्रममा समानुपातिक मतपत्रको ढ्वाङ खोल्दा प्रत्यक्षतर्फका केही मतपत्र फेला परेका हुन्।
ओखलढुंगामा भने प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ। उक्त निर्वाचन क्षेत्रमा विश्वराज पोखरेल पाँच मतको अन्तरले विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनाव लडेका थिए।
उनका निकटतम प्रतिस्पर्धी कुमार लुइँटेल (नेपाली कांग्रेस) ले मतगणनामा गम्भीर प्रश्न उठाएका छन्। मतपरिणाम घोषणा हुनुअघि मुचुल्का र गणनामा भेटिएको मतमा १८८ मतको फरक परेको दाबी गर्दै उनले पुनः मतगणनाको माग गरेका थिए।
लुइँटेलले मतपत्र हराएको भन्दै त्यसको खोजी नगरी परिणाम घोषणा गरिएको आरोप लगाएका छन्। उनले पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।
उनले प्रत्यक्षतर्फको मतपरिणामसम्बन्धी निर्णयमा हस्ताक्षर नगरेको र उनका प्रतिनिधिले पनि हस्ताक्षर नगरेको जनाइएको छ। यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने उनले बताएका छन्।

