Harsamaya
आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता

तेहरान - इरानले नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीलाई चयन गरेको छ । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली   खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको हो ।

५६ वर्षीय मोज्तबा सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति हुन्। उनले हालसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन् भने सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन्।  तर, वर्षौँदेखि इरानको सत्ता समीकरणमा उनले पर्दा पछाडिबाट ठुलो प्रभाव पार्दै आएको चर्चा निरन्तर हुँदै आएको छ।

सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ। 

यद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन। सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशाणुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो। 

अली खामेनीले आफ्नो शासनकालमा भावी नेतृत्वका बारेमा कहिल्यै प्रस्ट रूपमा बोलेका थिएनन्। सर्वोच्च नेता छनोट गर्ने निकाय एसेम्बली अफ एक्सपर्ट्सका एक सदस्यले दुई वर्षअघि मात्रै अली खामेनीले आफ्ना छोरालाई भावी नेतृत्वको उम्मेदवार बनाउने विचारको विरोध गरेको बताएका थिए। तर, यस्ता अनुमानहरूबारे उनले सार्वजनिक रूपमा कहिल्यै सम्बोधन गरेका थिएनन्।

 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update