Harsamaya
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना
प्रतिकात्मक तस्वीर ।

एजेन्सी - इरानमा अमेरिका–इजरायलले सुरू गरेको युद्धको नवौँ दिनमा पोप लियो चौधौँले आइतबार मध्यपूर्वमा ‘बमको गर्जन’ रोकियोस् भनेर प्रार्थना गरेका छन् । 

अमेरिकामा जन्मेका पोपले एन्जलसको प्रार्थनाको अन्त्यमा भने, ‘हिंसा र विनाशका घटनाहरू र घृणा र डरको व्यापक वातावरणमा द्वन्द्व फैलिने डर छ । मध्यपूर्व क्षेत्रबाट आएका समाचारहरूले गहिरो निराशा उत्पन्न गरेका छन् । प्रिय लेबनान र यस क्षेत्रका अन्य देशहरू फेरि एक पटक अस्थिरतामा जान सक्छन्।’

अमेरिका–इजरायली हवाई आक्रमणले इन्धनको भण्डार इरानलाई ध्वस्त पारिरहँदा तेहरानले आइतबार आफ्नो नयाँ सर्वोच्च नेता घोषणा गर्ने तयारी गरेको छ ।

इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउन अस्वीकार गरेका छन् तर युद्ध तीव्र गतिमा बढिरहेको बताएका छन् ।  

लियोले प्रार्थना गरे, ‘बमको गर्जन बन्द होस्, हतियारहरू शान्त होऊन्, र संवादको लागि ठाउँ खोलियोस्, जहाँ जनताको आवाज सुन्न सकियोस्।’
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update