काठमाडौं - भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका महेश बस्नेतले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको स्वीकार गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका बस्नेतले लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने उल्लेख गर्दै परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
उनले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले ‘सूर्य’ चुनाव चिह्नमा मतदान गरेर विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै नहार्ने बताए। आगामी दिनमा रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन तथा समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाउने उनले बताएका छन्।
बस्नेतले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

