रुकुम पूर्व - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन् ।
आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिए ।
एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अंहकार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अंहकारले आफूलाई बाहिर पठाएको स्मरण गरे ।
उनले भने, ‘त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।’ उनले धेरै सिट ल्याएका दलहरूलाई अंहकारबाट बच्न अनुरोध गरेका छन् ।
रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठूलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए ।
पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको उनले बताए ।

