काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
(रास्वपा)ले शनिबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील परिस्थितिमा इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रमले इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेका सन्दर्भमा उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले नेपाली नागरिकको सुरक्षा राज्यको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै कूटनीतिक पहल, समन्वय र पूर्व तयारीमार्फत कुनै पनि आकस्मिक परिस्थितिको सामना गर्न सरकार पूर्ण रूपमा तयार रहनुपर्ने उल्लेख गरेको छ ।
‘नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत् कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै सरकारलाई आवश्यक सबै सहयोग गर्न रास्वपा प्रतिबद्ध रहेको जानकारी पनि गराउँछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्ति
वि.सं. २०८२ फागुन १६
ने.सं.११४६ चिल्लाथ्व द्वादशी
विज्ञप्ति
मध्यपूर्वमा विकास भइरहेको पछिल्लो सैन्य मुठभेड र इरान केन्द्रित तनावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील मात्र छैन, यी घटनाक्रमहरूले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ।
मध्यपूर्वमा विकसित भइरहेका घटनाक्रमले इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेका सन्दर्भमा उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ।
यस परिवेशमा रास्वपा, सम्बन्धित देशस्थित नेपाली दूतावासहरुलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न नेपाल सरकारलाई आग्रह गर्दछ।
नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत् कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै सरकारलाई आवश्यक सबै सहयोग गर्न रास्वपा प्रतिबद्ध रहेको जानकारी पनि गराउँछौं।
शिशिर खनाल
प्रमुख
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

