काठमाडौँ - देशको मौसममा फेरि पश्चिमी वायु प्रणालीको प्रभाव देखिएको छ । उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज हिमाली तथा केही पहाडी भू–भागमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी र हिमाली भू–भागमा आंशिक बदली देखिएको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ, यद्यपि बिहानपख केही स्थानमा हुस्सु देखिन सक्नेछ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ ।
मौसमविद्हरूले विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने, पशुपालन तथा पर्वतारोहणमा संलग्न व्यक्तिहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । पश्चिमी प्रणालीको प्रभाव केही दिन अझै कायम रहन सक्ने जनाइएको छ ।

