Harsamaya
साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गर्यौं : ध्रुवराज न्यौपाने
पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने ।

काठमाडौं - पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । हामीसँगको विशेष कुराकानीमा न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् ।

‘किसानहरुले एउटा–दुईवटा सुन्तला, लिची वा तरकारी उत्पादन गर्छन, तर ठूलो परिमाणमा बजारमा पुर्याउन सकिँदैन् । त्यसैले त्यस्ता उत्पादनलाई बिक्री गर्ने उद्देश्यले पैंचो पसल सुरु गरिएको हो,’ उनले भने ।

उनले पैंचोको सुरुवात २०७२ सालमा गुल्मीको बलेटाक्सारबाट भएको जानकारी दिए । हाल गुल्मी, अर्घाखाँची र पाल्पामा मुख्य रूपमा कृषि कार्यक्रम सञ्चालन भइरहेको र उत्पादन देशभर मेचीदेखि महाकालीसम्म बजारमा उपलब्ध रहेको उनले बताए । साथै, कोरिया, अमेरिका, जापान र दुबईसम्म उत्पादन निर्यात भइरहेको उल्लेख गरे ।

पैंचोले कृषि उत्पादन, प्रशोधन र बजार व्यवस्थापन गरी करिब १०० भन्दा बढी उत्पादन बजारमा ल्याएको जनाएको छ । न्यौपानेका अनुसार कम्पनीसँग प्रत्यक्ष रूपमा करिब १२ हजार घरधुरी कोर मोडलमा आबद्ध छन् भने झन्डै एक लाख जनसंख्या अप्रत्यक्ष रूपमा जोडिएको छ । ‘यी १२ हजार घरधुरीबाट वार्षिक झन्डै १० करोड रुपैयाँभन्दा बढीको उत्पादन खरिद गर्छौँ,’ उनले बताए ।

केही किसान वार्षिक ३०–४० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्थामा पुगेको दाबी पनि उनले गरे । कम्पनीले अब लिमिटेड कम्पनीमा रूपान्तरण भई आइपीओ प्रक्रियामा जाने तयारी गरेको छ । आगामी एकदेखि डेढ वर्षभित्र थप एक अर्ब रुपैयाँभन्दा बढी कृषि क्षेत्रमा लगानी गर्ने योजना रहेको उनले बताए । हाल चिउरा, कर्नफ्लेक्स, ओट्स तथा गेडागुडीजन्य उत्पादनमा विस्तार भइरहेको जानकारी दिँदै उनले पोखरा तथा स्याङ्जा, तनहुँ, पाल्पा र बागलुङ क्षेत्रमा कार्यक्रम विस्तारको तयारी भइरहेको बताए ।

न्यौपानेले निजी क्षेत्र र किसानबीचको प्रभावकारी समन्वय बिना कृषि क्षेत्रको उन्नति सम्भव नभएको उल्लेख गरे । ‘सरकारले बजेट छुट्याए पनि साना किसानलाई व्यवसायिक कसरी बनाउने भन्ने स्पष्ट रणनीति अभाव देखिन्छ,’उनले भने । किसान र निजी क्षेत्रबीच सशक्त जोडाइले भए मात्र सरकारी लगानीको सही प्रतिफल देखिने उनको धारणा छ ।

किसानहरूले मूल्य नपाउँदा सडकमा दुध र चिया पोखेर विरोध गर्नुपर्ने अवस्था आउनु कृषि बजार संरचनाको कमजोरी भएको उनले संकेत गरे । बजार व्यवस्थापन र प्रशोधन उद्योगको विकासमार्फत यस्तो समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

उत्पादनभन्दा बजार व्यवस्थापनमा जोड दिनुपर्ने
कृषि नाफामा नजाने मुख्य कारण उत्पादन नभइ बिक्री प्रणाली कमजोर हुनु रहेको न्यौपाने बताउँछन् । उनका अनुसार नेपालमा अझै ठूलो जनसंख्या कृषिमा निर्भर भए पनि किसानले उत्पादनबाट दिगो आम्दानी निकाल्न सकेका छैनन् । ‘कृषिमा नाफा छैन भन्ने धारणा गलत हो, तर सानो परिमाणमा खेती गरेर परिवार धान्न सकिँदैन । किसानले आफू बाहेक अरू ८–१० जनालाई खाद्यान्न उपलब्ध गराउन सक्ने गरी उत्पादन र बिक्री व्यवस्थापन गर्न सके मात्रै वास्तविक नाफा देखिन्छ,’ उनले भने ।

न्यौपानेका अनुसार अहिले नेपालमा शहरमा बस्ने उपभोक्ताले ठूलो मात्रामा विदेशी कृषि उपज उपभोग गरिरहेका छन् । अझ किसान स्वयंले पनि ३० प्रतिशतभन्दा बढी कृषि सामग्री बाहिरबाट किनेर खानुपरेको अवस्था छ । ‘यसको अर्थ किसानले आफूलाई समेत पूर्ण रूपमा पाल्न सकिरहेको छैन,’ उनले विश्लेषण गरे ।

उनले कृषि क्षेत्रको प्रमुख समस्या ‘म्याक्सिमम युटिलाइजेसन’ नभएको बताए । उत्पादन भएको करिब ४० प्रतिशत उपज बिक्री नभई नष्ट हुने गरेको उनको दाबी छ । उदाहरण दिँदै उनले भने, ‘किसानले ३० रुपैयाँमा काउली बेचे पनि १० रुपैयाँ नाफा हुन्छ । तर बजारमा १०० रुपैयाँ देखेर आफू ठगिएको महसुस गर्छ । बिक्री संरचना र मूल्य शृंखला बुझ्न नसक्दा किसानहरुमा फ्रस्ट्रेसन बढिरहेको छ ।’ उनका अनुसार सरकारले हाल उत्पादनमा आधारित अनुदानमा बढी जोड दिएको छ ।

टनेल, मल, बीउजस्ता इनपुटमा अनुदान दिइए पनि बिक्री सुनिश्चित नभए त्यो प्रभावहीन हुने उनले बताए । ‘पहिले किसानले १० केजी उत्पादन पनि सजिलै बेच्न सक्ने वातावरण बनाइदिनुपर्छ,’ उनले सुझाव दिए ।

न्यौपानेले कृषि उपजलाई औद्योगिक प्रयोगसँग जोड्नुपर्ने धारणा राखे । जुम्लाको स्याउ वा अन्य फलफूलको ठूलो हिस्सा बजार नपाएर नोक्सान भइरहेको भन्दै उनले औद्योगिक प्रोसेसिङ उद्योग गाउँमै स्थापना गर्नुपर्ने बताए । तर बैंकिङ प्रणाली अझै धितो–आधारित भएकाले गाउँमै उद्योग स्थापना गर्न कठिनाइ भएको उनको गुनासो छ ।

उनले निजी क्षेत्रलाई ‘नाफाखोर’ भन्ने मानसिकता पनि कृषि विकासमा बाधक रहेको बताए । किसान र खरिदकर्ताबीच विश्वासको वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

प्राविधिक जनशक्तिको अभाव पनि मुख्य चुनौती
कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव पनि अर्को एक मुख्य चुनौतीको रुपमा खडा भएको न्यौपानेको भनाइ छ । कृषि पढेका युवाहरू सरकारी जागिर वा अन्य पेशातर्फ लाग्ने भएकाले उत्पादनमा दक्ष जनशक्ति अभाव देखिएको उनले बताए ।

आफ्नो कम्पनीमार्फत किसानलाई प्राविधिक तालिम, बाइब्याक ग्यारेन्टी तथा उत्पादनपूर्व जोखिम अध्ययन गर्दै आएको उल्लेख गर्दै उनले किसानलाई धैर्य राखेर दिगो बिक्री च्यानलसँग जोडिन आग्रह गरे । ‘अनुदानका पछि नदौडौँ । भरपर्दो खरिदकर्तासँग दीर्घकालीन सम्बन्ध बनाऔँ । कम्तीमा तीन सिजनको लागत–नाफा हिसाब गरेर मात्रै विस्तार गरौँ,’ उनले सुझाव दिए ।

न्यौपानेका अनुसार केन्द्रदेखि स्थानीय तहसम्म एउटै स्पष्ट कृषि रोडम्याप बनेर बिक्रीलाई प्राथमिकता दिइए मात्रै कृषि क्षेत्र व्यावसायिक र दिगो बन्न सक्छ ।

बारीदेखि थालीसम्मको ‘इकोसिस्टम’ विकास
नेपाली कृषि क्षेत्रमा समग्र ‘इकोसिस्टम डेभलपमेन्ट’ मोडल लागू गर्दै आएको दाबी पैंचो पसलले गरेको छ । प्रबन्ध निर्देशक न्यौपानेका अनुसार पैंचोले किसानलाई बारीदेखि उपभोक्ताको थालीसम्म जोड्ने एकीकृत संरचना विकास गरेको छ ।

न्यौपानेले किसानले उत्पादन गरेको जुनसुकै गुणस्तरको उपज भए पनि मूल्य फरक हुन सक्ने तर सम्पूर्ण उत्पादन खरिद गर्न सक्ने क्षमता पैंचोसँग रहेको बताए । ‘१ केजी उत्पादन गर्ने किसान होस् वा १००० केजी उत्पादन गर्ने, हामी बाइब्याक ग्यारेन्टी गर्न सक्छौँ,’ उनले भने ।

उनका अनुसार पैंचो किसानसँग उत्पादनको सुरुवाती चरणदेखि नै जोडिन्छ । मल–बिऊ व्यवस्थापनदेखि लिएर कुन समयमा कुन गुणस्तरको उत्पादन टिप्ने भन्ने सल्लाह, मौसमसम्बन्धी जोखिम जानकारी र बजार व्यवस्थापनसम्म कम्पनीले साथ दिने गरेको छ ।

पैंचोले नेपाली कच्चा पदार्थ प्रयोग गरी प्रशोधित सामग्री उत्पादन गरिरहेको पनि उनले बताए । टमाटरबाट केचप, पहाडी क्षेत्रका फलफूलबाट जाम तथा अचारजस्ता उत्पादन तयार पारिँदै आएको छ । कम्पनीसँग आफ्नै फलफूल तथा तरकारी प्रशोधन केन्द्र, खाद्य अनुसन्धान केन्द्र र कृषि उत्पादन अनुसन्धान केन्द्र रहेको उनले जानकारी दिए ।

न्यौपानेका अनुसार धेरै कम्पनीहरू कच्चा पदार्थ आयातमा निर्भर रहे पनि पैंचोले ‘कोर नेपाली माटो’का उत्पादनलाई प्राथमिकता दिएको छ । यसले उत्पादनको ताजापन र पोषण मूल्य उच्च रहने उनको दाबी छ ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update