गुल्मी - प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध जनाउँदै यस अवधिमा मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
प्रशासनले निर्णय उल्लङ्घन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गैह्रे ले बताए । सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनको मर्यादा र शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासनको निर्णयमा सहमति जनाएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ । निर्वाचन अवधिभर जिल्लाभित्र शान्ति-सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको प्रशासनले जनाएको छ ।

