Harsamaya
उपचार सहयोग नपाएको भन्दै एन्फाप्रति कप्तान सावित्रा ‘साम्बा’को गुनासो, समर्थकसँग सहयोग अपिल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ।

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर चोटको उपचारका लागि अपेक्षित सहयोग नपाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति असन्तुष्टि व्यक्त गरेकी छन्। अस्ट्रेलियामा भइरहेको निन्जा ए-लिग खेल्ने क्रममा घाइते भएकी साम्बाले उपचारका लागि समर्थकसँग सहयोगको अपिलसमेत गरेकी हुन्।

न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्सबाट खेलिरहेकी स्ट्राइकर साम्बा गत पुस तेस्रो साता ब्रिस्बेन रोअरविरुद्धको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किँदा घाइते भएकी थिइन्। उनको दाहिने घुँडाको ‘एसीएल’ पूर्ण रूपमा च्यातिँदा यस सिजनका सबै खेल गुमाएकी छन्। चिकित्सकका अनुसार मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्ने अनुमान गरिएको छ।

साम्बाले सामाजिक सञ्जालमार्फत सात हप्तादेखि आफू उपचारका लागि भौंतारिएको बताउँदै जटिल शल्यक्रिया आवश्यक भएको उल्लेख गरेकी छन्। उनका अनुसार घुँडामा पहिले गरिएको ग्राफ्ट र ‘एमसिएल’ दुवैमा गम्भीर चोट लागेको छ, जसका कारण पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो।

यसअघि पनि चोटका कारण मैदानबाहिर रहँदा एन्फाको पहलमा कतारमा उपचार गराएर पुनरागमन गर्न सकेको उल्लेख गर्दै उनले यसपटक भने एन्फाबाट वाचा गरिएको सहयोग नपाएको गुनासो गरेकी छन्। साम्बाका अनुसार एन्फा नेतृत्वले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव गरेको थियो, तर उपचार प्रक्रिया अघि बढाउन कठिन भएको उनले बताएकी छन्।

साम्बाले आफ्नो चोट गम्भीर भएकाले कतारस्थित उच्चस्तरीय अस्पतालमा नै उपचार गराउने योजना बनाएको बताएकी छन्। क्लबले बीमाबाट प्राप्त हुने रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र लामो पुनःस्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

आफ्नो करिअरकै कठिन लडाइँ सामना गरिरहेको बताउँदै उनले देशका समर्थकलाई सहयोगका लागि आग्रह गरेकी छन्। “एन्फाले साथ नदिए पनि समर्थकहरूको साथ पाउने आशा छ,” उनले उल्लेख गरेकी छन्।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिने साम्बा युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन्। २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेयता उनले नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी छन् र यस वर्ष राष्ट्रिय टोलीको कप्तान बनेकी हुन्।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update