वीरगन्ज - पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (सोमबार) साँझ ४:३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९:४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले कफ्र्युलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ ।
कर्फ्यू हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू : प्रशासनले निषेधाज्ञाको सीमा यस प्रकार तोकेको छ
पूर्व : बाइपास रोड
पश्चिम : रानीघाट पुल
उत्तर : पावरहाउस चोक
दक्षिणः घण्टाघर चोक
स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्ने जोसुकैलाई पनि ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । प्रशासनले हालको संवेदनशीलतालाई बुझिदिन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।
महानगरका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो बनाइएको छ ।


