काठमाडौँ - विद्युत् पूर्वाधार मर्मत र भूमिगत प्रणाली सुदृढीकरणका कामका कारण आज राजधानीका विभिन्न स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण ले सूचना जारी गर्दै प्राविधिक सुधारका लागि केही वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ‘पावर सटडाउन’ गर्न लागिएको जनाएको हो ।
बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक र तिलगंगा क्षेत्रमा पोल ढल्किएपछि त्यसको व्यवस्थापन गर्न ११ केभी प्रसारण लाइन सटडाउन गरिनेछ । तिलगंगा आँखा अस्पताल आसपास, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा तथा विमानस्थल वरपरका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म विद्युत् कटौती हुनेछ । त्यसपछि तिनकुने, गैरीगाउँ, सिनामंगल र विमानस्थल क्षेत्रअन्तर्गतका स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म आपूर्ति रोकिनेछ ।
यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत लाइन विस्तारका काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म केही क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि ३ बजेसम्म कटौती हुने जनाइएको छ ।
हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी क्षेत्र, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ ।
प्राधिकरणले मर्मत तथा स्तरोन्नतिको काम छिटो सम्पन्न गरी नियमित सेवा सुचारु गर्ने जनाएको छ र ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

