रामेछाप - सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पुराण सुन्न घरबाट निस्किए पनि घर फर्किनन् । उनी बिहीबार ठूली भीरको जङ्गल क्षेत्रमा मृत अवस्थामा फेला परिन् ।
कार्की कमलामाई–६ रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराणमा सहभागी हुन घरबाट बिहान निस्किएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवार र आफन्त चिन्तित बनेका थिए । त्यसपछि स्थानीयको सहयोगमा खोजतलास सुरु गरिएको थियो।
खोजीका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
धार्मिक कार्यक्रम गएकी महिलाको अकस्मात् मृत्युले स्थानीय समुदाय स्तब्ध बनेको छ। गाउँलेहरू घटनाको वास्तविक कारण सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जनाएको छ।

