Harsamaya
टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै जिम्बाब्वे समूह विजेता

काठमाडौं - टी–२० विश्वकप अन्तर्गत जिम्बाब्वे समूह विजेता बन्दै सुपर एटमा प्रवेश गरेको छ । हिजो राती भएको समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै जिम्बाब्वे समूह विजेता बनेको हो । यस समूहबाट अष्ट्रेलिया, आयरल्यान्ड र ओमान बाहिरिएका छन् ।

श्रीलंकाले दिएको १७८ रनको लक्ष्य जिम्बाब्वेले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ब्रियन बेनेटले ६३ रनको योगदान दिए । कप्तान सिकन्दर रजाले ४५, तादिवान्से मारुमनीले ३४, रायन बुर्लले २३ रन बनाए । श्रीलंकाका दुशन हेमन्थले दुई तथा दुनिथ वेल्लालागे र दासुन शनाकाले एक–एक विकेट लिए ।

त्यसअघि आर प्रेमादासा मैदानमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोड्यो । पाथुम निसान्काले सर्वाधिक ६२ रनको योगदान दिए । यस्तै, पवन रत्नायकेले ४४, कुसल परेराले २२, दुनिथ वेल्लालागेले १५ तथा कुसल मेन्डिसले १४ रन जोडे ।

बलिङतर्फ जिम्बाब्वेका ब्लेसिङ मुजारबानी, ब्राड इभान्स र ग्रिमी क्रिमरले दुई–दुई तथा रायल बुर्लले एक विकेट लिए । यस समूह ‘बी’ बाट दुबै टोलिले सुपर आठमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update