Harsamaya
अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल ।

रौतहट - नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको बताएका हुन् ।

नेता नेपालले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारेका छन् । उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए ।

चुनाव नलड्ने घोषणासँगै उनले आफ्नो भविष्यका रुचिका बारेमा पनि जानकारी दिएका छन् । उनले अबको समय अध्ययन (पढ्ने), लेखन (लेख्ने), देश–विदेशको भ्रमण गर्ने र सामाजिक सेवाका कार्यहरूमा व्यतीत गर्ने योजना बनाएका छन् ।

सोही अवसरमा उनले आफू विरुद्ध लगाइएको पतञ्जली जग्गा प्रकरणको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिँध्याउने नियतले यस्तो षड्यन्त्र बुनेको आरोप लगाए । ओलीले आफूलाई मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत आफ्नो विरोध गर्ने अन्य दलहरूलाई पनि नछाडेको र संकुचित राजनीति गरिरहेको उनले टिप्पणी गरे।

माधव नेपाल हाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी विरुद्ध विशेष अदालतमा पतञ्जली योगपीठको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update