सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता तथा महाधिवेशन प्रतिनिधि विकास तामाङले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार बंशलाल तामाङलाई विजयी गराउने उद्देश्यका साथ पार्टी पंक्ति परिचालन भइरहेको बताएका छन्।
नेपाल तरुण दल सिन्धुपाल्चोक–२ ले आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले युवालाई उम्मेदवार बनाएको उल्लेख गर्दै देशमा भएका राजनीतिक परिवर्तनहरूमा युवाहरूको महत्वपूर्ण योगदान रहेको बताए।
उनले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै कांग्रेस उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न आग्रह गरे। ‘देशमा लोकतन्त्र स्थापना देखि विभिन्न राजनीतिक परिवर्तनसम्म युवाहरूको भूमिका निर्णायक रहेको छ,’ उनले भने, ‘अब पनि युवाहरू एकताबद्ध भएर कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुनुपर्छ।’
तामाङले उम्मेदवारसँगै फिल्डमा उत्रिएर प्रचार–प्रसार गर्नु मात्र पर्याप्त नभएको बताउँदै मतदानका दिन मतदातालाई रुख चिन्हमा मतदान गर्न प्रेरित गर्नु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताए।
उनले फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि मतगणनाका क्रममा मतपेटिकाबाट निस्कने मतपत्रहरूमा रुख चिन्हमा छाप लागेको देख्न पाइयोस् भन्ने लक्ष्यका साथ पार्टीका नेता–कार्यकर्ताहरू परिचालित हुनुपर्ने धारणा राखे।

