Harsamaya
सहमतिबिना गरिने महाधिवेशनले विभाजनको औपचारिक रेखा कोरिन्छ : भूपेन्द्रजंग शाही 
कांग्रेस नेता भूपेन्द्रजंग शाही ।

काठमाडौं - कांग्रेस नेता भूपेन्द्रजंग शाहीले सहमति बिना असोज ३ र ४ गते एकलौटी महाधिवेशन सुरु गर्नु पार्टी विभाजनको औपचारिक रेखा कोर्नु भएको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै शाहीले एकता र सहमतिबिना हुने अधिवेशनमा आफ्नो सहभागिता नरहने स्पष्ट पारेका छन्।

शाहीले आफू पद, स्वार्थ र फाइदाका लागि विचार र अडान छाडेर भिडको पछि लाग्ने व्यक्ति नभएको बताएका छन्। कालिकोटको विकट गाउँबाट निरन्तर राजनीतिक यात्रा सुरु गरी जीवनका उर्वर समय कांग्रेस पार्टीमा समर्पण गरेको उल्लेख गर्दै उनले पार्टीमा आफ्नो पनि रगत र पसिना बगेको बताएका छन्।

उनले स्वाभिमान त्यागेर पदका लागि कसैको दास बन्ने वा व्यक्तिगत स्वार्थपूर्तिका लागि कुनै शक्तिसामु आत्मसमर्पण गर्ने आफ्नो स्वभाव नभएको बताएका छन्।

जस्तोसुकै मूल्य चुकाउनुपरे पनि आत्मसम्मान गुमाएर अवसरवादीको भिडमा सामेल हुन नसक्ने उनको भनाइ छ।

‘म जहाँ छु, जस्तो छु, यस्तै रहन्छु तर विवेक बन्धकी राखेर मलाई कुनै पनि पद प्राप्त गर्नु छैन,’ उनले भनेका छन्।

आफ्ना लागि राजनीति सत्ता, शक्ति र पद प्राप्ति नभई आदर्श, मूल्य, मान्यता, नैतिकता र इमानदारी भएको शाहीले बताएका छन्। उनले आफ्नो राजनीतिक भविष्यको चिन्ता नगर्न आग्रह गर्दै आफूले कुनै गुनासो नराख्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update