Harsamaya
प्रतिनिधिसभा निर्वाचन : बाजुरामा पुग्यो निर्वाचन सामाग्री

बाजुरा - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सामाग्री बाजुरा पुगेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले मतदानका लागि चाहिने आवश्यक सामग्री पठाएको हो ।

बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेको छ । आयोगले पठाएको निर्वाचन सामग्री जिल्लामा पुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए । केही सामग्री निर्वाचन आयोगले पठाएको र केही सामग्री निर्वाचन कार्यालयले खरिद गरेर मंगलबार बेलुकी कार्यालयमा पुगेको उनले जानकारी दिए ।निर्वाचनमा खटिने कर्मचारीलाई चाहिने आवश्यक सामग्री पुगेकाले निर्वाचनको तयारी लगभग अन्तिम चरणमा रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । विशेष गरी नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ । नेपाली काँग्रेसबाट जनकराज गिरी, एमालेबाट लाल बहादुर थापा, नेकपाबाट प्रकाश बहादुर शाह, रास्वपा बाट हेमराज थापा बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो ।

बाजुराका ७७ मतदान स्थलमा एक सय १८ मतदान केन्द्र रहेका छन् । तीमध्ये ६२ अतिसंवेदनशिल,१२ संवेदनशिल र अन्य सामान्य रहेका छन् । यहाँ ८७ हजार ८६१ मतदाता छन् । तीमध्ये महिला ४२ हजार ४३१, पुरुष ४२ हजार ४२८ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update