Harsamaya
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं ।

काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर तथा अफवाह फैलाएको आरोपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार उनलाई सोमबार साँझ भक्तपुरबाट पक्राउ गरिएको हो।

एसपी पवन भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रसाईंले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यतिबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले बयान लिएर छाडेको थियो। माघ ५ गते पोखराबाट पक्राउ परेका उनी सोही दिन छुटेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update