Harsamaya
काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा
काठमाडौं उपत्यका ।

काठमाडौं - काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार मध्यान्ह १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्युआई) आज मध्यान्हसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्ने चिकित्सकहरूले बताएका छन्।

‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) का अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएका छन्।

वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न सहयोग गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च हुने उनको भनाइ छ। 

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो तथा लामो समयसम्मको सुक्खा मौसम वायु प्रदूषण बढ्नुका प्रमुख कारण हुन्। 

इन्डेक्सको मापदण्डअनुसार ० देखि ५० एक्युआई राम्रो, ५१ देखि १०० सचेत रहनुपर्ने, १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्तै खतरनाक मानिन्छ।

काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ। विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान कार्ययोजनामा उल्लेख छ।

नेपाल सरकार को राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य जोखिमपूर्ण प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषण जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्सांकन गरिने नीति पनि रहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update