Harsamaya
श्रीलंकासँग अष्ट्रेलिया ८ विकेटले पराजित, श्रीलंका सुपर एटमा प्रवेश

काठमाडौं - टी–२० विश्वकप अन्तर्गत आयोजक श्रीलंकाले लगातार तेस्रो जित निकालेको छ । हिजो रातीको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । यो जितसँगै श्रीलंका सुपर एटमा प्रवेश गरेको छ । लगातार तीन जितसहित श्रीलङ्का ३ खेलबाट ६ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।

अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमै १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पछ्यायो । पाथुम निसान्काले विष्फोटक शतक प्रहार गरे । उनी ५२ बलमा १०० रनमा अविजित रहे ।  जारी प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी हुन् भने  विश्वकपमा शतक बनाउने दोस्रो श्रीलंकाली खेलाडी हुन् । यसअघि २०१० विश्वकपमा माहेला जयवर्दनेले शतक बनाएका थिए ।

यस्तै, कुशल मेन्डिसले पनि अर्धशतक बनाए । ३८ बल खेलेका उनले ५१ रन जोडे । पवन रत्नायकेले अविजित २८ रनको योगदान दिए ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले दुई विकेट लिए । त्यसअघि पल्लेकेले मैदानमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलिया २० ओभरमा १८१ रनमा अलआउट भयो ।

उसका लागि कप्तान मिचेल मार्श र ट्राभिस हेडले अर्धशतक प्रहार गरे । हेडले २९ बलमा ५६ तथा मार्शले २७ बलमा ५४ रन जोडे । हेडले ७ चौका र ३ छक्का तथा मार्शले ८ चौका र २ छक्का हिर्काए ।

बलिङतर्फ श्रीलंकाका दुशान हेमन्थले तीन तथा दुश्मन्था चमिराले दुई विकेट लिए । यस्तै, दुनिथ वेल्लालागे, कामिन्दु मेन्डिस र महिश तिक्षणाले एक–एक सफलता हात पारे ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update