सिन्धुपाल्चोक - नेपाली कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक -१ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको औपचारिक सुरुवात गरेका छन्।
आइतबार चौतारामा प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक र मतदाताले उनलाई सोमबार पाखर बजारमा भव्य स्वागत गरे। तामाङ बाहुल्य क्षेत्र तारामय बनेको थियो भने पूर्व सभामुख अग्निप्रसाद सापकोटासमेत शुभकामना दिन पाखर पुगेका थिए।
पाखर बजारबाट सुरु भएको अभियानमा स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताले डम्फु, झ्याली, झाँकी र नारासहित स्वागत गरेका थिए । सहभागीहरूले सुबोधलाई जिताउन तारामा मतदान गर्न आग्रह गरे। अभियानमा निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री र अमृता नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पा, पूर्व सांसद सिंहबहादुर बिक लगायतका नेताहरू उपस्थित थिए।
ठूलो पाखरमा आयोजित कोणसभामा सापकोटाले आफ्नो अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा सम्पन्न विकास निर्माण, जनताका समस्या समाधान र विभिन्न योजनाहरूको जानकारी दिएका थिए। उनले अधुरा रहेका आयोजना पूरा गर्न पूर्ण कार्यकालको अवसर दिन मतदातासँग आग्रह गर्दै भने, ‘जनताको विश्वास र माया नै मेरो शक्ति हो। मैले सुरु गरेका काम टुङ्गोमा पुर्याउन र नयाँ प्रतिबद्धताहरू पूरा गर्न तपाईंहरूको मत आवश्यक छ।’ उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी क्षेत्रमा नयाँ योजनाहरूको पनि जानकारी सुनाए।
अभियानको मुख्य उद्देश्य मतदाता भेटघाट मात्र नभई स्थानीयको सुझाव र समस्या संकलन गर्नु पनि रहेको थियो। सापकोटाले पाखर बजार, आसपासका टोल र गाउँहरूमा पुगेर प्रत्यक्ष संवाद गर्दै महिला, युवा, किसान र ज्येष्ठ नागरिकका सुझाव टिपेका थिए।

