सिन्धुपाल्चोक - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक -२ बाट उम्मेदवारी दिएका नेकपाका युवराज दुलालले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार चौतारामा एक कार्यक्रम गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
दुलालले २०८२ भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई स्मरण गर्दै देशलाई स्थायित्व, सुशासन, विकास र समृद्धितर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन्। उनले आगामी निर्वाचनलाई नियमित प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।
संविधानको कार्यान्वयन, प्रभावकारी कानुन निर्माण र योजनाबद्ध दीगो विकासमा सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच सुनिश्चित गर्ने, किसानमैत्री नीति ल्याउने, रासायनिक मल समयमै उपलब्ध गराउने तथा जंगली जनावरबाट कृषि बाली जोगाउने कानुनी व्यवस्था गर्ने बताएका छन्। गुठी जग्गामा बसोबास गर्दै आएका किसानहरूको समस्या न्यायोचित ढंगले समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
पूर्वाधार विकासतर्फ ‘विकासको बाकस परियोजना–२’ अघि बढाइने उल्लेख गर्दै पाँच वर्षभित्र क्षेत्रका प्रमुख सडकहरूलाई सधैं सवारी चल्ने स्तरीय सडकमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। मध्यपहाडी लोकमार्गको बाँडेगाउँ–बाहुनेपाटी–पाटी भञ्ज्याङ खण्ड तीन वर्षभित्र सम्पन्न गर्ने, दिगो सिँचाइ तथा खानेपानी प्रणाली विस्तार गर्ने र चौतारालाई शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी मेलम्ची र पाँचपोखरीलगायत क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पुरातात्विक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने र मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्रको एकीकृत विकास परियोजना अघि बढाउने योजना रहेको बताएका छन्।
समसामयिक सवालमा किसान, युवा र उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने, खेलकुद विकास कार्यक्रम सञ्चालन गर्ने तथा नागरिकको दुःख–सुखमा साथ दिने जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्।
अन्त्यमा उनले आफ्नो अनुभव, क्षमता र इमान्दारिताका आधारमा क्षेत्र र राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
-1771164631.jpg)
-1771164630.jpg)


