काठमाडौं - नेपाली कांग्रेसले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् ।
उनका अनुसार निर्वाचन आयोगले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रुपमा सुरु गर्नेछ । साथै फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा आयोजना गरिने उनले जानकारी दिए ।
प्रवक्ता चालिसेले कांग्रेसले निर्वाचनलाई जनतासामु एजेण्डा प्रस्तुत गर्ने, बहस गर्ने र लोकतान्त्रिक संस्कार सुदृढ गर्ने अवसरका रुपमा उपयोग गर्दै आएको उल्लेख गरे । उनले पार्टीले सभ्य, सन्तुलित र तर्कपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने तथा आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता दोहो¥याए ।
उनले पछिल्ला दिनमा केही दल र समर्थकबाट आचारसंहिता उल्लंघनका घटना भएको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराइएको बताए । कांग्रेस भने निर्वाचन आचारसंहिताको निःशर्त पालना गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
पार्टीभित्र आन्तरिक एकता सुदृढ बन्दै गएको उल्लेख गर्दै उनले निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरु क्षेत्र–क्षेत्रमा खटिएको जानकारी दिए ।
उनले सभापति गगनकुमार थापाको नेतृत्वमा तयार भएको प्रतिज्ञापत्रले समृद्धि, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भविष्यको खाका प्रस्तुत गर्ने दाबी गरे ।
कांग्रेसले यसपटकको प्रतिज्ञापत्रलाई जनताले दैनिक सन्दर्भका रुपमा प्रयोग गर्न सक्ने ‘जिवित दस्तावेज’का रुपमा ल्याउने तयारी गरेको जनाएको छ ।

