काठमाडौं - आगामी मध्यावधि निर्वाचनको सन्दर्भमा नयाँ राजनीतिक ध्रुवका रूपमा ‘आइडिया मञ्च’ गठन गरिएको घोषणा गरिएको छ । समावेशी समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, पिपुल फस्र्ट पार्टी र दलित गोलमेच सम्मेलनले संयुक्त रूपमा आज आपसी समझदारी गर्दै मञ्च निर्माण गरेका हुन् ।
मञ्चले आफूलाई नेपाली राजनीतिमा ‘समावेशी, लोकतान्त्रिक र नैतिक विकल्प’का रूपमा प्रस्तुत गरेको छ । संयुक्त प्रेस विज्ञप्तिमा देश निर्वाचन–उन्मुख अवस्थामा रहे पनि भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन नभएको आरोप लगाइएको छ ।
भ्रष्टाचारका मुद्दाहरू टुंगोमा नपुगेको, निहत्था युवाहरूको हत्यामा संलग्नलाई जिम्मेवार नठहराइएको तथा आन्दोलनका क्रममा भएका आगजनी र कैदी भगाउने घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत हुन नसकेको उल्लेख गरिएको छ । विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिहरू नै निर्वाचनमार्फत नीति निर्माता बन्ने सम्भावना रहेको दाबी गरिएको छ ।
मञ्चले केही नयाँ दल तथा व्यक्तिहरूले जेनजी आन्दोलनलाई स्वार्थपूर्तिको साधन बनाएको आरोप पनि लगाएको छ । गैरदलीय रूपमा सरकारमा प्रवेश गरेका एक मन्त्रीले आफ्नो दल गठन गरेको तथा केही मन्त्रीहरू अन्य दलमा प्रवेश गरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक मर्यादाविपरीत कदम भनिएको छ ।
आइडिया मञ्चका अनुसार जेनजी आन्दोलन सात सालयता भएका जनआन्दोलनहरूमध्ये लक्ष्य प्राप्त गर्न नसकेको आन्दोलन बनेको छ । आन्दोलनपछि सत्तामा पुगेकाहरूबाट न्यायको अपेक्षा गर्न कठिन भएको मञ्चको भनाइ छ । मञ्चसँग आबद्ध दलहरूले देशभर १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फ गरी ४४ उम्मेदवार उठाएको जनाइएको छ । संयुक्त रूपमा देशव्यापी चुनावी प्रचारप्रसार गर्ने निर्णयसमेत गरिएको छ ।

