खोटाङ - भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङको एउटै गाउँका तीन युवाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
मेघालयको पूर्वी जयन्तीया हिल्समा सञ्चालन भइरहेको अवैध कोइलाखानीमा माघ २२ गते भएको विस्फोटमा बरापोखरी गाउँपालिका–१ सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो।
विस्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। उनी कोइलाखानीभित्रै विस्फोटमा परेर ज्यान गएको हुनसक्ने आशंका गरिएको छ। विस्फोटपछि उनको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ।
घटनामा पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ रहेको स्थानीयवासीले बताएका छन्। नरबहादुरको गम्भीर घाइते अवस्थामा उपचारका क्रममा माघ २३ गते मृत्यु भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।
विस्फोटमा बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको मेघालयकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनापछि मेघालयमा सँगै काम गर्दै आएका आफन्तले फोनमार्फत जानकारी गराएका थिए। मृतकका आफन्तका अनुसार विस्फोटमा ज्यान गुमाएका युवाका शव आगोले जलेर नचिनिने अवस्थामा रहेका छन्।
विस्फोटमा ज्यान गुमाएका खोटाङका युवाको शव नेपाल ल्याउन समस्या भएको छ। शव स्वदेश ल्याउन र घाइतेको उपचारका लागि सहयोग संकलन अभियानसमेत सुरु गरिएको स्थानीयवासीले जनाएका छन्।

