Harsamaya
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
सांकेतिक तस्वीरः हर समय/harsamaya

ढोरपाटन- जिल्लाका दुई हजार ३२० किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

आगामी फागुन १ देखि १५ गतेसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने दुई हजार ३१३ र विद्यालयभन्दा बाहिरका सात जना किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको हो ।

विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइने छ । 

अघिल्लो वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका ११ हजार १७७ जनालाई खोप लगाइएको थियो । गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित लगाउन सुरु गरिएको खत्रीले बताए। अघिल्लो वर्षभन्दा यस वर्ष खोप लगाउन मापदण्ड फरक भएको उनले उल्लेख गरे ।

अघिल्लो वर्ष ६–१० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकामा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वर्षका किशोरीलाई खोप दिइने खत्रीले जानकारी दिए।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो ।

‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ ।

विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले अनुरोध गरे।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update