काठमाडौं- आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा वेस्ट इन्डिजले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकालेको हो ।
शनिबार भारतको कोलकातास्थित इडेन गार्डेन रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले १८.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले ४२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । टम ब्रुसले २८ बलमा एक चौका र दुई छक्कासहित ३५ रन थपे । ओपनर जर्ज मन्सीले १५ बल खेल्दा तीन चौकासहित १९ रन जोडे ।
स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका शेफर्डले घातक बलिङ गरे । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । उनले दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई पभेलियनको दिशा देखाएका थिए ।
उनले तीन ओभरमा २० रन खर्चिएर पाँच विकेट लिए । जासन होल्डरले तीन विकेट लिए । सामार जोसेफ र गुडाकेश माटीले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८२ रन बनाएको थियो । वेस्ट इन्डिजका ब्याटर शिमरोन हेटमायरले ६४ रन बनाए । उनले ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे ।
ओपनर ब्रान्डन किंगले ३५ रन जोडे । शेरफेन रदरफोर्डले २६ रनको योगदान गरे । कप्तान शाई होप र रोभम्यान पावेलले क्रमशः १९ र २४ रन बनाए ।स्कटल्यान्डका ब्राड क्युरीले दुई विकेट लिए । ओलिभर डेविडसन, सफयान शरिफ र माइकल लिस्कले समान एक विकेट लिए ।

